नियम २२
चिकित्सकको आचार संहिता
(१) रोगी र रोगीका परिवारका सदस्यहरू प्रति दर्तावाला
चिकित्सकको आचार संहिता देहाय बमोजिम हुनेछः–
(क) आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने,
(ख) आफ्नो उचित पारिश्रमिक, औषधि र सामान तथा उपकरणहरूको लाग्दो खर्च बाहेक अनुचित तरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अरु आर्थिक लाभ नउठाउने,
(ग) आफूले आफ्नो शक्ति, ज्ञान, शिप र अनुभवले कुनै रोगको उपचार गर्न नसक्ने जस्तो लागेमा उपलब्ध हुन सकेसम्म कुनै विशेषज्ञसँग सल्लाह लिई गर्ने र अवस्था हेरी रोगीको उपचार हुन सकेसम्म विशेषज्ञबाट गराउनु पर्छ भन्ने कुराको सल्लाह स्पष्ट रूपमा उपचार गराउने रोगी वा रोगीका परिवारका भरपर्दो सदस्यहरूलाई दिने अथवा अस्पताल जस्ता संस्थामा सिफारिस गर्ने,
(घ) रोगीलाई वा निजका परिवारका सदस्यलाई उचित देखिएमा रोगको कडाइको सूचना दिने, तर आर्थिक वा अन्य कुनै किसिमको उद्देश्य राखी मामुली रोगलाई कडा बनाउने छैन ।
(ङ) निम्नलिखित अवस्थामा बाहेक आफूले उपचार गरेको रोगीलाई आफ्नो उपचारबाट वञ्चित नगराउने ः–
(१) सरकारले: तोकेको पारिश्रमिक दिन अस्वीकार गरेमा,
(२) औषधी उपचार नगर्दा हुने हानी बताउँदा समेत आफूले सिफारिस गरेको औषधि उपचार नगरेमा, (३) आवश्यक नपरेका औषधिहरू लेख्न चिकित्सकलाई दबाब दिएमा वा लेख्न बाध्य बनाएमा ।
(४) कुनै रूपबाट आफूलाई अनैतिक काम गराउन खोजेमा ।
(५) आफ्नो क्षमताभन्दा बाहिरको रोगको उपचार गराउन खोजेमा,
(६) चिकित्सक आफैं अस्वस्थ भएमा । (च) रोगीलाई कडा रोग लागेको कारणले बराबर हेरविचारको जरुरत छ भन्ने थाहा भए पछि आफ्नो अनुपस्थितिमा पनि पाएसम्म यस किसिमका चिकित्सकलाई देखाउ भनि परिवारका सदस्य वा हेरविचार गर्ने मानिसलाई विस्तृत रूपमा बताई आवश्यक परेमा आफूलाई खबर दिन सक्ने गरी आफू रहने सम्भावित ठाउँहरू समेत बताएर मात्र छाड्ने,
(छ) रोग र रोगीको हेरचाह गर्ने प्रति भद्र व्यवहार गरी आफ्नो ज्ञान, बुद्धि र अनुभवले पुगेसम्म विचार पु¥याई निदान र उपचारमा उपेक्षा वा हेलचक्राई नगर्ने,
(ज) कसैलाई विरामीको वा निरोगिताको झुठ्ठा प्रमाणपत्र नदिने, कसैको पक्षमा वा विपक्षमा झुठ्ठा साक्षी नबक्ने प्रमाण नदिने वा वक्तव्य नदिने,
(झ) अदालतको आदेशले कानून बमोजिम बताउनु पर्ने जति कुरा बाहेक आफ्नो रोगीले विश्वास गरी बताएको निजसँग सम्बन्धित कुनै गुप्त कुराहरूलाई नबताउने,
(ञ) स्वास्थ्यको कारणले बाहेक अरु अवस्थामा गर्भपात नगराउने, स्वास्थ्यको कारण छ भने तापनि अर्को चिकित्सकको समेत राय लिई निजको रायमा पनि गर्भपात नगराएमा गर्भवतीको ज्यान खतरामा छ वा जन्मने बच्चा अपाङ्ग बन्ने सम्भावना छ वा गर्भवती महिलाको मानसिक सन्तुलन खराब हुने सम्भावना छ भन्ने कुरामा एक मत भएमा मात्र गर्भपात गराउने, तर यसबाट कानून विरुद्ध कुनै काम गर्ने अधिकार भएको मानिने छैन ।
(ट) कुनै उपचार गर्दा तत्सम्बन्धी दुर्घटना हुन गएमा आफूले सक्दो मेहनत र बुद्धि लगाई रोगीको प्राण वा अंग बचाउने उपाय गर्ने अरु विशेषज्ञको सेवा प्राप्त हुन सक्ने रहेछ भने निजको सहयोग लिई त्यस अवस्थामा परेको रोगीलाई उत्तरदायित्व लिई यथासम्भव उपचार गर्ने,
(ट१) काउन्सिलले तोकेबमोजिमको निरन्तर व्यवसायिक प्रक्रिया पूरा गर्नुपर्ने,
(ठ) मादक पदार्थ वा लागू पदार्थ खाई रोगीको उपचार नगर्ने ।
(२) दर्तावाला चिकित्सकको सहकारी प्रतिको आचार संहिता देहाय बमोजिमको हुनेछ ः–
(क) आफ्ना सहकारीहरूलाई शब्दले अथवा अरु कुनै व्यवहारबाट होच्याउने वा अपमान नगर्ने,
(ख) आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री डिप्लोमा र कुनै पद पाएको छ भने त्यो बाहेक अरु कुनै कुरा नलेख्ने, तर कुनै किताब लेखेको छ र सो किताब सर्वसाधारणलाई नभै चिकित्सक वा तत्सम्बन्धी व्यक्तिको लागि मात्र लेखिएको छ भने सो किताबमा अरु पाएको कुनै उपाधीहरू लेख्न भने कुनै वाधा हुने छैन ।
(ग) बानी बस्ने औषधी आफूले सेवन नगर्ने तथा सहकारी र अरुलाई समेत बानी बस्ने गरी सकेसम्म सेवन नगराउने,
(घ) योग्यता नभएका व्यक्तिलाई उपचार वा त्यस सम्बन्धी काम गर्न र गराउन मद्दत नगर्ने,
घ१) आफ्ना सहकारीले आचार संहिता विपरीत हुने कुनै काम गरेमा सोको सूचना: काउन्सिललाई दिने,
(ङ) कसैलाई आफ्नो पारिश्रमिकको हिस्सा कबोली आफू कहाँ विरामी ल्याउने प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एजेण्ट नबाउने ।